२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं : वर्षमान पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले धोका दिएको बताएका छन्। गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै उनले कोशीमा कांग्रेसले धोका दिएका कारण आफ्नो उम्मेदवार पराजित भएको भन्दै अब कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन्।

‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं। कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमान्दार बनेर कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ’, उनले प्रश्न गरे।

पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रियसभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको बताए। उपमहासचिव पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको बताएका छन्। पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न काग्रेस नेतृत्वसँग माग गरेका छन्।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्।

 

 

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस