२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

बालकुमारी घटना: मृतकका परिवार र गृह मन्त्रालयबीच ४ बुँदे सहमति

Balkumari incident 4 points agreement between the family of the deceased and the Ministry of Home Affairs

काठमाडौं । बालकुमारी प्रदर्शनमा मारिएकाका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट भएको छ। आजैको मन्त्रीपरिषद् बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाएको र गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिको बैठकमा उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कारबाही गरिने प्रतिबद्धता जाहेर गरेको परिस्थितिबिच उक्त भेटघाट भएको हो।

मृतकहरूको गृह जिल्ला दैलेख र अछामका तथा आसपास जिल्लाका सांसद एवम् जनप्रतिनिधिसहित गृह मन्त्रालय आएका आफन्तलाई गृहमन्त्री श्रेष्ठले न्याय दिलाएरै छाडिनेमा आश्वस्त बनाएका छन्। त्यससँगै मृतकका परिवार र गृह मन्त्रालयबीच आज चार बुँदे लिखित सहमति समेत भएको छ। मृतकका परिवारका तर्फबाट अछामका विरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेको सहमति पत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहबर बसेका छन्।

यस्तो छ चार बुँदे सहमति:

१) मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा ११ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने।

२) सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने।

३) मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने।

४) मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस