२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

ग्रामिण महिलाको पहलमा बराहक्षेत्रमा ३६ कट्टामा आधुनिक सजिवन खेती

१००० किसान लाभान्वित हुने संरक्षण परियोजना उद्घाटन

इटहरी सुनसरी | ग्रामिण क्षेत्रमा जीविकोपार्जन, जैविक विविधता संरक्षण र दिगो कृषि प्रवर्द्धन गर्ने उद्देश्यले “तल्लो तमोर ल्यान्डस्केप संरक्षण परियोजना” को औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

दुहबी–२, सुनसरीस्थित ग्रामिण महिला उत्सुकता विकास मञ्च (Forward) को आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नं. १ मा आयोजित उक्त कार्यक्रम विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न भएको हो। परियोजना COMDEKS अन्तर्गत सञ्चालन गरिएको हो, जसमा सतोयामा पहल, जापान सरकारको वातावरण मन्त्रालय, KNCF, जैविक विविधता महासन्धि, UNU-IAS, GEF, SGP तथा संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) लगायतका संस्थाहरूको सहकार्य रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका उपप्रमुख नन्द कुमारी सुनुवार रहनु भएको थियो। त्यसैगरी अतिथिको रूपमा वडा नं. २ का वडा अध्यक्ष होम प्रसाद गौतम तथा मञ्चका कार्यकारी निर्देशक द्रव्य राज चौधरी को उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता मञ्चकी अध्यक्ष राजकुमारी चौधरी ले गर्नुभएको थियो।


उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सुनुवारले स्थानीय उत्पादनको प्रवर्द्धन, महिलाको आर्थिक सशक्तीकरण तथा दिगो विकासमा यस्तो परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

परियोजना अन्तर्गत प्रारम्भिक चरणमा करिब १००० किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। विशेषगरी मोरिङ्गा (सजिवन), बेसार, केरा लगायतका स्थानीय उत्पादनहरूको व्यावसायिक खेती र बजार प्रवर्द्धनमा जोड दिइनेछ।

हालसम्म ३६ कट्टा जग्गामा सजिवन खेती विस्तार गरिएको छ। साथै, सजिवनसँगै मेवा, अम्बा, रागती लगायतका फलफूलको एकीकृत खेती प्रणाली परीक्षण गरिने योजना रहेको आयोजकले जनाएको छ।

परियोजना मार्फत निर्माण गरिएका संरचना तथा खरिद गरिएका उपकरणहरू सुरुवाती चरणमा संस्थाको निगरानीमा रहनेछन् भने भविष्यमा किसानहरूको क्षमता अभिवृद्धि भएपछि क्रमशः उनीहरूलाई हस्तान्तरण गरिनेछ। यस परियोजनाले स्थानीय स्तरमा आयआर्जन वृद्धि, वातावरण संरक्षण तथा दिगो कृषि प्रणाली विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रममा करिब रु २ लाख बराबरको सजिवन (मोरिङ्गा) पात सुकाउने (ड्राइ गर्ने) तथा पिस्ने मेसिन किसान समूहलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रम संयोजक गोबिन्द चौधरी का अनुसार सजिवनको पात, बोट, फलफूल तथा फूल सबै भाग बजारमा बिक्रीयोग्य हुने भएकाले कुनै पनि वस्तु खेर नजाने र किसानका लागि राम्रो आयआर्जनको माध्यम बन्ने अपेक्षा गरिएको छ।

उनले यस प्रविधिले उत्पादनको मूल्य अभिवृद्धि गर्न सहयोग पुग्ने र स्थानीय किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस