२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

संघीयता मास्ने र राजतन्त्र फर्काउने षडयन्त्र गर्नेलाई कारबाही गर्न दलहरुको माग

काठमाडौं । संघीयता मास्ने र राजतन्त्र फर्काउने सड्यन्त्रको भइरहेको भन्दै जनकपुरमा राजनीतिकदलहरुले सरकार र प्रशासनिक निकायहरुलाई ध्यानकर्षण गराएका छन् । मंगलबार जनकपुरमा बसेको संयुक्त बैठकपछि नेताहरुले विज्ञप्ति जारी गर्दै लामो संघर्ष र बलिदानपश्चात प्राप्त गणतन्त्र, लोकतन्त्र र संघीयता मास्न षड्यन्त्र भइरहेको भन्दै कारबाहीको माग गरेका हुन् ।

‘विगत केही दिनदेखि विभिन्न नाममा जनतालाई भ्रमित गर्दै केही प्रतिक्रान्तिवादी शक्तिहरु राजतन्त्र फर्काउने षड्यन्त्रको व्यापार गर्दैछन्,’ संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ, ‘जनताको सर्वोच्चता र संविधानको प्रस्तावना र त्यस्को अपरिवर्तनीय प्रावधानविपरीत, अराजकता फैलाउने तत्वहरुमाथि सरकार र प्रशासनको कारगर कारबाहीको आभावले आउने दिनहरुमा स्थिति अनियन्त्रित नहोस् भन्नेतिर सरकार र प्रशासनिक निकायहरुको ध्यानाकर्षण गर्दै यसका विरुद्ध सम्पूर्ण गणतन्त्रवादी बौद्धिकवर्ग, युवा, विद्यार्थी, मजदुर(किसान, व्यवसायी र नागरिक समाजका सबै अंगलाई आ(आफ्नो स्तरबाट सक्रियताका साथ अग्रसर हुन अपील गर्दछौं ।’

वक्तव्यमा तमलोपाका नेता वृषेश चन्द्र लाल, डा. विजय कुमार सिंह, नेपाली कांग्रेसका नेता प्रदेश सांसद रामसरोज यादव, नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र पण्डित, शीतल झा, माओवादी केन्द्रका श्रीनारायाण प्रतिहस्त, नेकपा एमालेका सन्तोष यादव, कम्युनिष्ट नेतासमेत रहेका साहित्यकार रोशन जनकपुरीलगायतले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस