२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

अहिले नयाँ भनिएका सांसदहरू पनि भोलि ‘अनुभवी चाहिन्छ’ भन्छन् : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका दलहरू पनि पुरानो भइसकेको बताएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ भनिएका दलहरूले अर्को चुनावमा फेरि नयाँ अनुहार ल्याउन नसक्ने बताए।

‘नयाँ दलबाट सांसद भएकाहरू अब म सन्यास लिन्छु भन्छ र? अर्कोपटक त तिमी नयाँ हौ, अनुभवी चाहिन्छ भनिहाल्छ नि,’ उनले भने। अहिले आएका नयाँ सांसहरू पनि भोलि सांसद बन्न पछि नहट्ने उनको भनाइ छ। त्यस्तै अध्यक्ष ओलीले नयाँ दलहरूको कुनै राजनीतिक एजेण्डा नभएको बताए। उनले नयाँ दलको राजनीतिक रंग र गन्तव्य केही नभएको बताए।

‘नयाँ भनिएका दलहरू दिगो छैनन्। उनीहरूको न पोलिटिकल कलर छ, न पोलिटिकल सेन्स नै। यिनीहरूको आकार कस्तो हुन्छ? कस्तो फल्छ/फूल्छ? केही थाहा छैन,’ उनले भने। नयाँ दलहरू समाजवादी हो कि पुँजीवादी केही टुंगो नभएको उनको भनाइ छ। उनले एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा बोकेर हिँडेको प्रस्ट्याए। ‘हामीले समृद्ध नेपाल सुखी नेपाली भनेका छौं। त्यहाँ कसरी पुग्ने पनि ब्याख्या गरेका छौं,’ उनले भने, ‘उनीहरूको के छ? केही पनि छैन। जनतालाई झुक्याएर मात्रै हो संसदमा आउनसक्ने।’

 

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस