२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौं प्रशासनले दुई महिनाका लागि लम्ब्यायो निषेधित क्षेत्रको अवधि

Kathmandu administration has extended the period of restricted area for two months

काठमाडौं । चर्को विरोध र आलोचनाका बीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको अवधि तेस्रो पटक पनि लम्ब्याएको छ। आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै थप दुई महिनाको लागि निषेधित क्षेत्र तोकिएको हो। यसरी प्रशासनले निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो। सुरूमा प्रशासन कार्यालयले गत मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न निषेध गर्दै निषेधित क्षेत्र तोकेको थियो।

गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रममा दंगा नहोस् भन्ने उद्देश्यले प्रशासनले उक्त आदेश जारी गरेको थियो। तर प्रसाईंको कार्यक्रम सकिए पनि प्रशासनले निषेधित क्षेत्र भने नहटाएको हो। त्यसपछि पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्र लम्ब्याएको थियो। आज गरेको आदेश तेस्रो पटक हो।

प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वरसम्म, शितल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको थियो। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अतिविशिष्ट पदाधिकारी बसोबास गर्ने तथा कार्यालयलगायत आसपासका क्षेत्र रहेकाले निषेधित क्षेत्र तोकेको प्रशासनको तर्क छ। यसरी माइतीघर लगायत मुख्य स्थनमा प्रदर्शन गर्न रोक लगाउँदा सुरक्षा, एम्बुलेन्स, दमकल, अस्पताल लगायत अत्यावश्यक सेवा प्रवाहमा सहज भएको पनि प्रशासनले जनाएको छ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस