२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

६ महिने नाकाजामलेपनि माग पूरा नभएको भन्दै निषेधित क्षेत्र तोड्न पुगेका महतोमाथि प्रहरी खनियो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका पूर्व मन्त्री राजेन्द्र महतोलाई प्रहरीले लछारपछार पारेको छ। महतोसहितका नेताहरू बुधबार काठमाडौंस्थित माइतीघर मण्डलको निषेधित क्षेत्र तोड्न पुगेका थिए।

त्यसक्रममा प्रहरीसँग धकेलाधकेल भएको हो। प्रहरीको लाठी प्रहारबाट महतो सहितका अभियानका केही नेताहरू घाइते भएको एक नेताले जानकारी दिए।

यता जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले भने अहिलेसम्म कोही नियन्त्रणमा नपरेको र घाइते पनि नभएको बताएका छन्। निषेधित क्षेत्र तोड्ने जुलुसमा सुमन सायमीसहितका नेताहरू पनि पुगेका थिए। भृकुटीमण्डपबाट निस्किएको र्‍याली माइतीघर मण्डल पुगेको थियो।

महतोले गत फागुन १४ गते लोसपा त्याग गरेका हुन्। उनी लोसपाको वरिष्ठ नेता थिए। ६ महिना नाकाजाम गर्दा पनि मधेसले आफ्ना माग पूरा गराउन नसकेको भन्दै अलग्गै आन्दोलनको घोषणा गरेका छन्। उनले पछाडि पारिएको मधेसी, मुस्लिम, आदिवासी, जनजाति समेटेर राष्ट्रिय मुक्ति आन्दोलन गर्ने बताएका छन्।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस