२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

शालीन पोखरेलको मृत्युबारे प्रहरीले गहिरो अनुसन्धान गरोस्ः ओली

Shalin died at a child age due to family disintegration

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा १४ वर्षीया शालीन पोखरेल मृत फेला परेको घटनाको विश्वसनीय अनुसन्धान गर्न माग गरेका छन्। अध्यक्ष ओलीले शनिबार सामाजिक सञ्जालमार्फत घटनाको गहिरो अनुसन्धान गरी हत्या वा आत्महत्या के हो सार्वजनिक गर्न माग गरेका हुन्।

उनले लेखेका छन्, ‘चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्। परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस्। सबैले अनुसन्धानलाई सहयोग गरौँ।’

गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलकी १४ वर्षीय छोरी शालीन चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलद्वारा सञ्चालित होस्टेलमा मृत फेला परेकी थिइन्। कक्षा ८ मा अध्ययनरत उनी फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। शालिनका बुवा दिपेन्द्र र आमा सगुनले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको आरोप लगाएका छन्।

उक्त घटनामा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर वडा १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल छन्। शालिनको मृत्युपछि उनका बुबासहित परिवारजनले उनीहरुबिरुद्ध किटानी जाहेरी दिएका थिए।

 

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस