२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

माधव नेपाललाई देउवाले भने, प्रचण्डले लात्ताले हिर्काए भनेको सह्य भएन सहकार्य गरेर जाऔं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यको प्रस्ताव राखेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई सार्वजनिक रुपमा नै प्रतिक्रियावादी भनेको र लात्ताले हिर्काएको भनेको आफूलाई सह्य नभएको देउवाले नेपाललाई सुनाएका थिए ।

बुधबार बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवास पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेर फर्किनुभएको छ, छलफलमा सहभागी एक नेताले भने । ‘उहाँ (देउवा) ले सहकार्यलाई निरन्तरता दिएर जाऔं भन्ने कुरा गर्नुभएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘अध्यक्षज्यूले यो कुरा सचिवालयको बैठकमा राख्छु भन्नुभयो।’

एकीकृत समाजवादी केही वर्षदेखि कांग्रेससहितको गठबन्धनमा थियो। भेटवार्तामा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर अध्यक्ष नेपालसँग कुरा गरिएको बताए। ‘अहिलेको विकसित राजनीतिक घटनाक्रमका बारेमा हामीले छलफल गरिराखेका छौं र आज पूर्वप्रधानमन्त्री माधवकुमार नेपालजीसँग यही विषयमा केन्द्रित रहेर कुरा भएको हो। सकारात्मक छलफल भएको छ, हामी यसलाई निरन्तरता दिन्छौं,’ लेखकले भने।

अध्यक्ष नेपाललाई मंगलबार बेलुकी नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर सहकार्यको प्रस्ताव राखेका थिए। नयाँ गठबन्धनमा सामेल भएर सरकारमा जाने कि नजाने भन्ने एकीकृत समाजवादीले आजको सचिवालय बैठकबाट निर्णय गर्ने तयारी गरेको छ। नेपाललाई भेट्न देउवा पत्नी आरजु र नेता लेखक लिएर पुगेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस