काठमाडौं । आगामी सोमबार सार्वजनिक बिदा रहेको छ । पवै पर्वको देश भनेर चिनिने नेपालमा सोमबार नेपालीकोहरुको ऐतिहासिक उत्सव घोडे जात्रा परेको छ । घोडे जात्राको उत्सव प्रत्येक वर्ष काठमाडौँको मध्य भागमा अवस्थित टुँडिखेलको फराकिलो मैदानमा चन्द्रमास अनुसार चैत्र कृष्णपक्ष औँसीको दिनमा मनाईंन्छ। यो दिन काठमाडौंसहितको उपत्यकालाई बिदा दिइन्छ । “घोडे जात्रा” लाई अङ्ग्रेजीमा “हर्स परेड” भनी अनुवाद गर्न पनि सकिन्छ । नेपाली सेना र प्रहरीहरू मिलेर आयोजना तथा प्रदर्शन गरिने घोडे जात्रा ऐतिहासिक रूपमा धनी विद्या हो, जुन काठमाडौँ सहरको पुरातनता र पुरानो संस्मरणमा केन्द्रित रहेको छ। यो अवसर अङ्ग्रेजी क्यालेन्डर अनुसार मध्य मार्च वा अप्रिल–मार्च महिनाको मध्य तिर हुन्छ। यो जात्रा सुरु गर्नु अघि टुँडिखेलमा रहेको सैनिक मञ्चमा राष्ट्रप्रमुख उपस्थित भई जात्रा अवलोकन गर्ने प्रचलन छ ।
घोडे जात्रा पाहाँ चःह्रे पर्वमा पर्दछ। पाहाँ चःह्रे नेवार समुदायको तीन दिवसीय महोत्सव हो र नेवारी भाषामा पाहुनाहरूलाई आमन्त्रित गर्ने प्रचलनलाई पाहाँ चःह्रे भनिन्छ। यस अवसरमा कन्केश्वरी, भद्रकाली र महान्काल लगायत विभिन्न देवदेवीका शक्ति पीठहरू तान्त्रिक संस्कारबाट सक्रिय गराइन्छ। पहिलो दिन, मानिसहरूले लुकुमहादेवको पूजा गर्दै आफ्नो घर–टोल सफा गर्छन् र केही व्यक्ति जनावर बलि पनि दिन्छन्। दोश्रो दिन असनमा एउटा चाड सुरु हुन्छ जहाँ अन्नपूर्णा मन्दिरको छेउमा दुई पालकी (खट) एक अर्काको साथ ठोक्काइन्छ। यसलाई दिदी बहिनीहरू भेट्ने प्रतीकको रूपमा लिइन्छ। साँझमा देवीको मूर्तिहरू सहरको चारैतिर खटमा परिक्रमाका लागि लगिन्छ। देवी लुमालडी, भद्रकाली, कनकेश्वरी र भैरवको मूर्तिहरू असन चौकमा दिनको मुख्य उत्सवमा र राती टुँडिखेलमा ल्याइन्छन्। यस दिन यी भगवानहरु एक साथ हरेक वर्ष भेला हुन्छन्।
प्राचीन मध्य युगमा काठमाडौँका बासिन्दा हरूलाई आतङ्कित गर्ने प्रेतको कथाले नेपाली संस्कृति र परम्परा कसरी व्यवहारिक, अद्वितीय र स्पष्ट रूपमा धनी छ भनेर बताउँछ भने पर्व मनाउनुको कारण पनि रमाइलो रहेको छ । भूत प्रेतलाई दबाउन घोडाबाट सम्भव भएको किंवदन्तीले यो पर्वलाई निक्कै रोचक बनाएको छ ।

