२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

राप्रपाको प्रदर्शन शान्ति सुरक्षाका लागि खुला चुनौती : जनमोर्चा

Chitra Bahadur KC

२७ चैत, काठमाडौं । राप्रपाले काठमाडौंमा केन्द्रित भएर गर्न लागेको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाले गम्भीर रुपमा लिएको जनाएको छ । प्रदर्शनको क्रममा निषेधाज्ञालाई स्वीकार नगर्ने र त्यसलाई तोड्ने राप्रपाको घोषणाले देशको शान्ति सुव्यवस्थालाई भङ्ग गरेर अशान्तिको अवस्था उत्पन्न गर्नका लागि खुल्ला चुनौती भएको जनमोर्चाको ठहर छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी लामो संघर्षद्वारा स्थापित गणतन्त्र संविधान, धर्मनिरपेक्षतालाई खतम गरेर देशलाई प्रतिगमन तर्फ लैजानका लागि राजावादी शक्तिहरुले योजनाबद्ध ढंगबाट यो काम गरिरहेको जनाएका छन् । साथै उनीहरुको प्रतिगामी गतिविधिलाई भारतीय साम्राज्यवादले पनि समर्थन गर्दै आएको जनमोर्चाले आरोप लगाएको छ ।

‘२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरुमाथि प्रहार गरेर ती उपलब्धिहरुलाई उल्टाउन चैत २७ गतेको कार्यक्रम आयोजना गरिएको कुरामा कुनै शंका छैन,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । राप्रपा लगायत राजावादी शक्तिहरुको गणतन्त्र खतम गर्ने षड्यन्त्रलाई चकनाचुर पार्न उनले सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिएका छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस