२०८३ कार्तिक १० गते सोमवार | 2026 October 26th Monday

नैनितालमा बिलायो स्वर्ग जस्तो नेपालको घर पुगेर नयाँ वर्ष मनाउने सपना

नैनिताल । बर्दियाको बाँसगढी नगरपालिका–१ बबईका टोपबहादुर बस्नेत (गोपाल) दुई महिनाअघि भारतमा मजदुरी गर्न गएका थिए। उनीसँगै गाउँकै हिरे बुढा र हर्क बहादुर दमाई पनि मजदुरीका लागि त्यतै हानिएका थिए। मंगलबार बिहान बस्नेतको घरमा उनीहरूकै फोन आउँछ, दुखद् सन्देश लिएर। भारतमा मजदुरी गर्न गएका बस्नेत दुर्घटनामा निधन भएको उनीहरूले परिवारलाई जानकारी गराए।

६० वर्षीय बस्नेतको परिवार बस्ने बबईमा तीन सदस्य मात्रै थिए। बस्नेतकी श्रीमती, बुहारी र नातिनी। उनका दुई छोरा पनि कामका लागि भारतमै छन्। छोरा दुर्गा गुजरातमा छन् भने कमल हिमाञ्चलमा छन्। बुवाको निधनको खबरपछि उनीहरू अहिले नै नैनिताल आएका छन् ।

‘यताबाट बुहारी पनि त्यतै हिँड्नु भएको छ। नयाँ वर्षका लागि घर आउँदै हुनुहुन्थ्यो। सँगै गएकाहरूले फोन गरेर दुःखद खबर सुनाउनुभयो,’ मृतक बस्नेतका भान्जा सुरज चौलागाईँले भने, ‘घटनाले विक्षिप्त बनाएको छ।’

बस्नेत कामको लागि भारत आउजाउ गरिरहन्थे। बस्नेत मात्रै होइन, भारतको उत्तराखण्डस्थित उचाकोटमा जिप दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ को मृत्यु भएको छ। नयाँ वर्षको मुखैमा घर फर्किरहेका उनीहरू नैनिताल क्षेत्रमै बिलाएका छन्। नेपालीहरू खानेपानी योजनामा पाइप बिछ्याउने काम गर्थे।

करिब २ महिनाअघि उनीहरू उचाकोट पुगेका थिए। सोमबार उनीहरूले खानेपानी योजनाको काम सके। त्यसपछि घर फिर्ती हुन झोलीझिम्टी तयार गरेर गाडी भाडामा लिन्छन्। सोमबार बेलुका यूके ०४ सीसी ०४९५ नम्बरको गाडीमा चढे, बनबासा हुँदै टनकपुर पुग्न। पाइप बिछ्याउने काम गर्ने उनीहरू सोमबार मात्रै काम सकेकोले कोही अर्को दिन घर जाने योजनामा थिए।

कोही त्यही दिन घर फर्किने भनेर झोलीझिम्टासहित जिपमा बस्छन्। उनीहरूले अघिल्लो महिना (मार्च) मै घर फर्किने योजना बनाएका थिए। तर ठेकेदारले काम गरेको पैसा नदिएपछि रोकिए। सोमबार नै घर आउन चढेका ९ जना नेपाली सवार जिप दुर्घटना पर्यो। जिप गुडेर ५ मिटर पार नगर्दै खोंचमा झर्‍यो।

नेपाली ९ जना नेपाली सवार जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। ‘कम्बल लगायत सामानले जिप खचाखच थियो। भिरालोमा रहेको जिप ५ मिटर तल पुग्दा दुर्घटनामा पर्‍यो,’ बेतालघाट प्रहरी चौकीका प्रमुख अनिश अहमदले भने, ‘दुई जनाले जिप चढेका रहेनछन्।’

दुर्घटनाको यकिन कारण खुलेको छैन। भिरालोमा रहेको जिप अनियन्त्रित भएर भिरमा खसेको हुनसक्ने अनुमान छ। नैनितालको उचाकोटीमा जिप दुर्घटना हुँदा परेर ७ नेपालीसहित ८ जनाको मृत्यु भएको थियो। मृत्यु हुने नेपालीमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज चौधरी, ४० वर्षीय अन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ७० वर्षीय गोपाल बस्नेत छन्।

दिल्लीस्थित नेपाली राजदूताबास स्रोतले दिएको जानकारी अनुसार ज्यान गुमाउने अधिकाँस बाँकेको चाँदनी चोक फतेहपुरका छन्। मृतक उदयराम चौधरी, तिलक चौधरी, अन्तराम चौधरी, विनोद चौधरी र धिरज चौधरी फतेहपुरका हुन्। फतेहपुर बाँकेको बैजनाथ गाउँपालिका–८ मा पर्छ। त्यहाँका वडाध्यक्ष भगत थारुका अनुसार अहिलेसम्म उदयराम चौधरी र तिलक चौधरीको मृत्यु पुष्टि भएको छ। उनीहरूका परिवार नैनितालका लागि हिँडिसकेको उनले बताए।

अन्यको मृतकको स्थानीय ठेगाना एकिन गर्ने काम भइरहेको छ। जिप चालक नैनीताल बेतालघाटका राजेन्द्र कुमार (राजु) को पनि दुर्घटनामा परेर मृत्यु भएको छ। दुर्घटनमा अन्य दुई नेपाली घाइते भएका छन्। घाइतेद्वय शान्ति चौधरी र छोटुको हल्द्वावानीमा उपचार भइरहेको छ। मृतकको शव पोष्टमार्टम गरेर छिटो परिवारलाई दिन, विद्यमान क्षतिपूर्ति र घटनाको अनुसन्धान गर्न भारतीय प्रशासनलाई आग्रह गरिएको छ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस