२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

यी हुन् बालिकाहरुलाई स्पा, पार्लर र रेष्टुरेण्टमा यौन कार्य गर्न लगाउने युवतीहरु

काठमाडौं । एक बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई जना महिलालाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए।

पक्राउ पर्नेमा झापा घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीया पूजा लोवा र चितवन घर भई काठमाडौं गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन छन्। पूजा लोवा चाबहिलमा फ्रेन्डसिप ब्युटी एन्ड स्पाकी सञ्चालक हुन्।

उनीहरू दुई जनाले एक बालिकालाई पूर्वी नवलपरासीको एक रेस्टुरेन्ट र काठमाडौंको स्पामा यौन गतिविधि गर्न बाध्य पारेको एसपी मिश्रले बताए। गोप्य सूचनाको आधारमा खटिएको ब्युरोको टोलीले बालिकाको उद्धार गरिसकेको उनले जानकारी दिए।

मिश्रका अनुसार पूजा लोवा र पूजा मगरले आर्थिक अवस्था कमजोर भएकी बालिकालाई आकर्षक तलब–सुविधा हुने प्रलोभन दिएका थिए। सुरूमा बालिकालाई वेटरको काम दिने भन्दै पूर्वी नवलपरासीको रेस्टुरेन्टमा पठाए। त्यहाँ सञ्चालकले धम्की दिएर यौन व्यवसायमा लाग्न बाध्य पारेका थिए।

त्यसपछि बालिकालाई काठमाडौंको स्पामा ल्याइएको थियो। त्यहाँ विभिन्न प्रलोभनमा पारी बालिकालाई ग्राहकसँग शारीरिक सम्बन्ध राख्न लगाइएको थियो। पूजा मगरले ग्राहकले बोलाएको ठाउँमा ती बालिकालाई पठाउने गरेकी थिइन्।

यसरी यौन व्यवसायमा लगाएवापत् प्राप्त भएको रकम थोरै बालिकालाई दिने बाँकी मगर आफैंले लिने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबै जनामाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस