२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

एमाले परिषद् बैठक सम्पन्न : सङ्गठन सुदृढीकरण तथा शुद्धिकरण कार्ययोजना पारित

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धिकरण अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ। बैठकले २०८१ साललाई पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धिकरण अभियान वर्षका रुपमा मनाउने प्रस्ताव पारित गरेको हो।

ललितपुरको गोदावारीस्थित सनराइजहलमा सम्पन्न भएको बैठकले यस वर्षलाई पार्टीले सङ्गठन सुदृढीकरण तथा शुद्धिकरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले हिजो प्रस्तुत गरिएका प्रतिवेदनहरुमाथि आज छवटा समूहमा छलफल गरेर निष्कर्ष निकाल्दै टोली नेताहरुले प्रस्तुतीकरण गरेको बताए। टोली नेताले दिएको सुझाव समेट्ने गरी ती प्रतिवेदन पारित गरिएको उनले बताए।

उनका अनुसार समूह नं १ बाट केन्द्रीय सदस्य मोहनमाया ढकाल, समूह नं २ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसी, समूह नं ३ बाट पोलिटब्यूरो सदस्य ठाकुर गैरे, समूह नं ४ बाट केन्द्रीय सदस्य शान्ति पाख्रिन, समूह नं ५ बाट केन्द्रीय सदस्य ऋषिकेश पोखरेल र समूह नं ६ बाट सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले समूहगत रुपमा आएका निष्कर्षलाई प्रस्तुतीकरण गरेका थिए।

समूह नं १ का टोली नेता ढकालले आधारभूत वर्गका पार्टी सदस्यता शुल्क घटाउनुपर्ने, निर्वाचन प्रणालीको सुधार गर्नुपर्ने, समूह नं २ का टोली नेता जैसीले पार्टीमा प्यानलगत र गुटबन्दी गर्न नहुने तथा पार्टीका अधिवेशनका लागि चयन हुने प्रतिनिधि तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने सुझाव दिए।

समूह नं ५ का टोली नेता पोखरेलले पार्टीका सबै नेता तथा कार्यकर्ताको आयव्यय सार्वजनिक गर्नुपर्ने तथा मितव्ययी बन्नुपर्ने सुझाव दिए।

शनिवार केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल शुरु भएको थियो।

परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गरेका थिए।

बैठकमा उपमहासचिव विष्णु रिमालले १३ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गरिएको सभाहलमा प्रस्तुत गरेको एमालेका प्रचार विभाग प्रमुख गौतमले बताए। हिजो शुरु भएको बैठकमा २ हजार ४५४ प्रतिनिधि सहभागी थिए।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस