२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कतारका राजासँग राष्ट्रपति पौडेलले भने, हाम्रो लागि विपिन जोशी रिहाइ महत्वपूर्ण चासो हो पहल गरिदिनुस्

Emir of Qatar and President Paudel meet

११ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर (राजा) सँग आग्रह गरेका छन् । आफ्नो निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा मङ्गलबार नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले विपिन जोशी रिहाइको विषय उठाएका उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताउँदै रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । गत ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने जवाफ दिएका राष्ट्रपतिका सल्लाहकार पोखरेलले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस