२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

इलाम २ अपडेट: १० हजार सदर मतमध्ये आधा एमालेका सुहाङलाई, कतै बुबाको भन्दा चार गुणाको अग्रता

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका ७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ को मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले ४४१३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। कुल ९५२४ सदर मतमध्ये उनले करिब ४७ प्रतिशत मत ल्याएका हुन्।

नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा ११५५ ले बढी छ। खड्काले ३२५८ मत ल्याएका छन्। यो सदर मतको करिब ३५ प्रतिशत हुन्छ।

अहिलेसम्मको मतगणनाअनुसार मूढा चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन्। उनले ९६३ मत ल्याएका छन्। त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ६४५ मत ल्याएका छन्।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए। २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए। अहिले केही वडामा सुहाङले बुबा सुवासले लिएको अग्रताको तुलनामा चार गुणा बढीसम्म अग्रता लिएका छन् ।

२०७९ को निर्वाचनमा एमाले (सुहाङका बुबा स्वर्गीय सुवास नेम्वाङ) ले यो पालिकाबाट ३२७ मतले अग्रता लिएको थियो । अहिले सुहाङले ११५५ मतले अग्रता लिएका छन् । यो झण्डै चार गुणा बढीको अग्रता हो ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस