२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

फण्डामा फस्ने डरले रविको चितवन कार्यालयका सीईओले दिए राजीनामा: ब्लू बस एम्वुलेन्स, शिविर बन्द

३१ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री एवम् चितवन– २ का सांसद रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन् । उनले लामिछानेको चितवन कार्यालयमा ९ महिनाअघि काम सुरु गरेका थिए । उनले राजीनामा पत्रमा व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख गरेका छन् । तर पछिल्लो समय उनलाई रास्वपाले चितवन छाडेर केन्द्रीय कार्यालय काठमाडौंमा काम गर्न भनेको एक नेताले बताए ।

‘सुरु सुरुमा त उहाँले केही काम गरे जस्तो गर्नुभएको थियो, तर पछिल्लो समयमा उहाँका गतिविधिहरु ठीक थिएनन्’, ती नेताले भने, ‘पार्टी सभापतिको चाहना र स्पिरिट अनुसार उहाँले काम गर्न नसकेपछि सिधैं हटाउन भएन, काठमाडौं कार्यालयको एक युनिटमा काम गर्न भनियो, उहाँले पछि राजीनामा दिनुभयो ।’

बरालले मासिक एक लाख ५० हजार रुपैयाँ तलब लिने गरी काम सुरु गरेका थिए । गत वर्ष साउनमा विज्ञापन आह्वान गरेर लामिछानेले निर्वाचन क्षेत्र कार्यालयमा सीईओ राखेका थिए ।

उनलाई एक वर्षका लागि भनेर नियुक्त गरिएको भए पनि ८ महिनामै सम्झौता रद्द गरिएको रास्वपाका एक नेताले जानकारी दिए । लामिछानेले निर्वाचन क्षेत्रमा सञ्चालन गरेका ब्लू बस र ब्लू एम्वुलेन्स सेवा पनि बन्द हुने अवस्थामा पुगेका छन् । रास्वपाका एक नेताले दिएको जानकारी अनुसार पुरानो मेडिकल कलेजसँगको समन्वयमा थालिएको स्वास्थ्य शिविर कार्यक्रम केही समयदेखि लगभग बन्दको अवस्थामा छ ।

बरालले भने आफूपनि कुनै न कुनै फण्डामा फस्ने डर बढेकाले निस्क्रियता बढाउँदै गएको र आफैले छोड्न चाहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस