२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

एमालेका सूर्य थापाको नेतृत्वमा सहकारी सम्बन्धी संसदीय छानबिन समिति गठन

काठमाडौं, जेठ १५ । सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको छ। नेकपा (एमाले) का सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको हो। मंगलबार साँझ बसेको प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठन गरिएको हो।

समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने सदस्य छन् भने एमालेबाट थापा र सरिता भुसाल तथा नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल सदस्य छन्।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेको सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सुनाएका छन्। यो समितिलाई सभाले सहमति जनाएको सभामुख घिमिरेले घोषणा गरेका थिए। यो समितिको कार्यअवधि तीन महिनासम्मको हुनेछ।

सहकारीको बचत ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो। लामिछानेको नाम र पद उल्लेख नगरी उनी पहिले प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कको नाम राखेर संसदीय छानबिन समिति गठन भएको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस