२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

मधेसका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

२४ जेठ, काठमाडौँ । मधेस प्रदेशमा जसपा नेपालको सरकार ढलेको छ । दलीय गठबन्धन फेरबदल हुँदा चार पटकसम्म सुरक्षित मुख्यमन्त्री सरोजकुमार यादव पाँचौ पटकमा पदमुक्त भएका छन् ।

जनकपुरधामस्थित प्रदेश सभामा बुधबार उनको विश्वासको मतको पक्षभन्दा विपक्षमा बढी मत पर्दा सरकार ढलेको हो ।
सरकार जोगाउन ५४ मत चाहिनेमा प्रदेशसभामा उनको पक्षमा मात्र ५० र विपक्षमा ५३ मत परेको छ। यादवलाई उनको दल जसपा नेपाल, कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् भने एमाले, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मत दिएका छन् । १०७ सदस्यीय प्रदेशसभामा बुधबार १०३ जनाको उपस्थिति थियो ।

मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सांसद छन् । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका एकरएक जना छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस