२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

‘देशको गोप्य सूचना बेच्ने एजेन्ट नेपाली कांग्रेसमा छन्’ : गृहमन्त्री लामिछाने

जेठ २७, मोरङ । मुलुकका गोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही र अनुसन्धानका विषय के भइरहेको छ भनेर प्रश्न गर्दा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने तर्किएका छन् । मोरङ विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा देशका गोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय कहाँ पुग्यो ? भनेर प्रश्न गर्दा उनले जवाफ दिन चाहेनन् । ‘सञ्चार माध्यममै आएका कुरा मैले संसदमा उठाएको’ भन्ने जवाफ दिएर उनी पन्छिए । संसदमा सम्बोधन गर्ने क्रममा लामिछानेले देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं भन्दै अभिव्यक्ति दिएका थिए ।

गृहमन्त्रीले त्यतिबेला देशको गोप्य सूचना बेच्ने एजेन्ट भनेर नेपाली कांग्रेसलक्षित आरोप लगाएका हुन् । गृहमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन कांग्रेसले माग समेत गरेको छ। कांग्रेस महामन्त्री गगन कुमार थापाले अघिल्लो संसद बैठकमा पार्टी र पार्टीका सांसदमाथि लगाइएको आरोप संसदको रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए। आफू गृह मन्त्रालयको नेतृत्वमा रहँदा त्यस्तालाई अनुसन्धान तथा कारबाहीको दायरामा ल्याउनुपर्नेमा गृहमन्त्रीले संसदमा बोलेर ‘हलुका टिप्पणी’ गर्न खोजेको र आफ्नो पद जोगाउन कांग्रेसलाई आरोप मात्रै लगाएको आमबुझाइ छ ।

‘मुलुकको सूचना बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय कहाँ पुग्यो र त्यसको प्रक्रिया या कुनै चिज भइरहँदा भन्ने कुरा पनि भएन । संसदमा बोल्ने सन्दर्भमा मैले कसैको नाम लिएको थाहा छैन । सञ्चार माध्यममा यस्ता कुरा पनि आउँछन् नि भन्ने कुरा गरेको हुँ । पत्रपत्रिका र सञ्चार माध्यममा आएकै कुराले गर्दा खेरी हो,’ लामिछानेले भने, ‘अरु प्रश्न पनि छन् होला नि साथीहरू ? तपाईंहरुका आफ्ना प्रश्न पनि भइदिएको भए हुन्थ्यो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस