२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

भारतमा बेच्न लैजाँदै गरेको अवस्थमा ललितपुरबाट किशोरीको उद्धार, दुईजना पक्राउ

काठमाडौँ। भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले १४ वर्षीय किशोरीलाई ललितपुरबाट उद्धार गरेको छ । ललितपुरबाट किशोरीलाई उद्धार गरेर बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका–२ घर भएकी ३३ वर्षीय इन्दिरा कटुवा तामाङ छन् । आर्थिक अवस्था कमजोर भएकी १४ वर्षीय किशोरीलाई पोखरामा आफ्नो होटल रहेको र त्यहाँ मासिक २० हजार तलबको काम दिन्छु भनी प्रलोभन देखाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट किशोरीलाई चापागाउँस्थित सुनाकोठीबाट मकवानपुरतर्फ लैजाँदै गरेको अवस्थामा सम्बरलाई प्रहरीले पक्राउ गरेको हो

सम्बरको साथबाट प्रहरीले दिनेश थकुरा तामाङको नाममा रहेको भारतीय आधार कार्ड, भारतीय रुपैयाँ र बिना तामाङको नामको नेपाली नागरिकता बरामद गरेको छ । यसअघि पनि बेचबिखन मुद्दामा जेल परेका सम्बरबहादुर २०८० वैशाखमा मात्र थुनामुक्त भएका थिए । उनी १० वर्ष जेल बसेर छुटेका हुन् । जेलबाट छुट्नासाथ उनले पुरानै अपराध कर्म सुरु गरेको भेटिएको ब्युरोले जनाएको छ।

ती किशोरीलाई सम्बरको सम्पर्कमा लैजान नुवाकोट तादी गाउँपालिका घर भएर टोखामा बस्ने इन्दिरा कटुवालले सहयोग गरेकी थिइन्।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस