२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एसईईमा सबै विषयमा अनुत्तीर्ण विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

१५ असार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा एसइईमा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ । शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निणर्य गरेको हो ।

परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन् । तर, यस पटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एक पटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निणर्य गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए ।

दाहालका अनुसार लेटेर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट बञ्चित हुने भएकाले ती विद्यार्थीलाई पनि समेट्ने गरी निर्देशन दिने निणर्य मन्त्रालयले गरेको हो । ‘अब जति वटा विषय लागेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन्, यसको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको छ,’ प्रवक्ता दाहालले भने, ‘यसको लागि लेटर गेडिङ निर्देशिकामा पनि परिमार्जन गर्नुपर्छ, थप कोचिङ कक्षाहरु पनि आवश्यक छ ।

प्रवक्ता दाहालका अनुसार पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाई र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिइएको छ । बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार एक लाख २६ हजार ४७९ विद्यार्थीलाई दुई भन्दा बढी विषय लागेको छ । यी विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने मन्त्रालयले निणर्य गरेको हो ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस