२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आजदेखि मनसुन अझ सक्रिय: ३० जिल्ला उच्च, ३४ जिल्ला मध्यम र १३ जिल्ला न्यून जोखिममा (सूची)

Afghanistan Rain And Flood

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २१) देखि तीन दिन (असार २३) सम्म मनसुन अझ सक्रिय भई देशभर व्यापक वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै जोखिमका हिसाबले जिल्लाहरूलाई तीन भागमा विभाजन गरेको छ। महाशाखाका अनुसार यस अवधिमा गण्डकी प्रदेशका ८, लुम्बिनीका ९, कर्णालीका ६ र सुदूरपश्चिमका ७ गरी ३० जिल्ला उच्च जोखिममा देखिएका छन्।

अर्थात् यी ३ दिन हुने वर्षाका कारण गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ, लुम्बिनीका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्व, कर्णालीका जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जोखिममा देखिएका हुन्।

यस्तै कोसी प्रदेशका १४, मधेसको १, बागमतीका ७, गण्डकीका ३, लुम्बिनीका ३, कर्णालीका ४ र सुदूरपश्चिमका २ गरी ३४ जिल्ला वर्षाको मध्यम जोखिममा छन्। महाशाखाका अनुसार उक्त अवधिमा कोसीका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा, इलाम, धनकुटा, भोजपुर, सोलुखुम्बु, उदयपुर, संखुवासभा, मोरङ, सुनसरी, खोटाङ र ओखलढुंगा, मधेसको सप्तरी, बागमतीका रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा र रसुवा, गण्डकीका मनाङ, लमजुङ र गोरखा, लुम्बिनीका दाङ, बाँके र बर्दिया, कर्णालीका डोल्पा, मुगु, सुर्खेत र सल्यान र सुदूरपश्चिमका कैलाली र कञ्चनपुर वर्षाको मध्यम जोखिममा रहेका हुन्।

महाशाखाका अनुसार मधेसका ७ र बागमतीका ६ गरी १३ जिल्ला भने वर्षाको न्यून जोखिममा छन्। मधेसका धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र सिराहा तथा बागमतीका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोट र धादिङलाई मौसम महाशाखाले न्यून जोखिममा राखेको हो।

हेर्नुहोस् सूची-

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस