२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

दाङमा बाढीमा परी एक जनाको मृत्यु भने एक बेपत्ता, दर्जनौँ घर डुबानमा

असार २२, घोराही | विरल वर्षा पछि आएको बाढीमा परी दाङमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएको छ । त्यस्तै दर्जनौँ घर डुबानमा परेका छन् । आज बिहान खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ भने राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् ।

गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए । खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्रयाक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको उनले जानकारी दिए।

त्यस्तै, दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए। लमहीबाट दूध बेचेर फर्किंदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए । बाढीमा फसेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरिएको उनले बताए ।

अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् । सशस्त्र प्रहरी नेपाल प्रहरीले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको छ । अविरल वर्षापछि सेवार खोलामा आएको बाढीले डायर्भसन बगाउँदा दाङको घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस