काठमाडौं । निरन्तरको भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर हिजो र आज गरी १४ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो । तनहुँ शुक्लागण्डकी ७ काउरेमा गएको पहिरोमा पुरिएका मध्ये २ जनाको शव निकालिएको छ । पहिरोबाट ४० बर्षीया हिरा नेपाली र ६५ बर्षीय श्याम भण्डारीको शव प्रहरी र स्थानीयले निकालेको तनहुँ प्रहरीका डिएसपी दिपक कुमार रायले बताउनुभयो । सोही पहिरोमा अनिषा बास्तोला बेपत्ता हुनुहुन्छ । बेपत्ताको खोजी भइरहेको छ ।
तनहुँ जलविद्युत आयोजनामा काम गर्ने एक जना मजदुरको डाडाँबाट खसेको ढुङगा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ५० बर्षीय कृष्ण बहादुर पुलामी रहेको प्रहरीले जनाएको छ । यसैगरी चितवनमा नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि १ सय ७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नारायणी नदीको जल सतह ११ मिटर भन्दा माथि रहेको छ ।
यस्तै हिजो राप्ती नदीमा आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । राजपुर गाउँपालिका-२ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो । त्यसैगरी सेती नदीमा जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । सिगास गाउँपालिका-५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।
यता लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका ३ र ७ जोड्ने चनौटेस्थित बेलिब्रिज जोखिममा परेको छ । बाढीले बेलिब्रिजको फाउन्डेसन रहेको भूभाग कटान गर्न थालेपछि पुल जोखिममा परेको हो ।
यस्तै बाँकेमा राप्ती नदीमा आएको बाढीले राप्ती सोनारी र डुडुवा गाउँपालिकाका धेरै गाउँ बस्ती उच्च जोखिमा परेका छन् । राप्तीको बाढी खतराको सहतभन्दा २ मिटरमाथि बग्न थालेपछि राप्ती सोनारी १ बाघखोर सहितका तटीय क्षेत्रका २० भन्दा बढी घर डुवानमा परेका छन् । एउटा स्कुल समेत डुबानमा परेको छ । राप्ती नदीको तल्लो तटिय क्षेत्र कृषि चौफेरी , छिटैपुर्वा सहितका बस्ती जोखिमा परेका छन् । डुडुवाका छिटैपुर्वा पाझा र चौफेरीका डेढ सयभन्दा बढी परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ ।

