२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने

२३ असार , हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने निर्णय गरेका छन् ।

संघमा सत्ता समीकरणमा भएको परिवर्तन भएसँगै बागमती प्रदेशको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आइतवार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा नदिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । उनले मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने निर्णय गरेको बताए ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने समयबारे एमालेका मन्त्रीहरूको राजीनामा आएपछि निर्णय गर्ने जनाइएको छ । बागमतीमा एमालेसहितका साना दलको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई दिएको समर्थन फिर्तासँगै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा नरहेकाले राजीनामा दिन र सरकारलाई दिएको समर्थन फिर्ता लिन रोकिएको बताए ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस