२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

वडामै पराजित कृष्णबहादुर घर्तीलाई देउवाको सिफारिसमा प्रदेश प्रमुख नियुक्त

Krishna Bahadur Gharti

रुपन्देही । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा वडामै पराजित भएका रोल्पाका कृष्णबहादुर घर्ती नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेशको प्रदेश प्रमुख हुनुभएको छ । रोल्पाको माडी गाउँपालिका वडा नं २ बाट उहाँ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिनिधि छनौटमा पराजित हुनुभएको थियो । नेपाली कांग्रेस विभाजन भएको बेला शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसको रोल्पा सभापति हुनुभएका घर्ती १२ औँ महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो ।

‘कांग्रेसमा लामो समयदेखि क्रियाशील नेता हुनुहुन्छ कृष्णबहादुर घर्ती, तर १४ औँ महाधिवेशनमा वडाबाटै निर्वाचित हुन सक्नुभएन, अहिले प्रदेश प्रमुख बनेको सुन्दा निकै खुसी लागेको छ, यो सिंगो जिल्लाका लागि ठूलो उपलब्धि हो’ स्थानीय एक नेताले बताउनुभयो ।

रोल्पा कांग्रेस सभापति किशोर आचार्यका अनुसार घर्ती लामो समयदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाएर बस्नुभएको थियो । उहाँका अनुसार ६५ वर्षीय घर्तीले ५० सालदेखि नै यसलाई नियमित चलाइरहनुभएको छ । दुई श्रीमती र ७ जना छोराछोरी रहेका घर्तीको अहिले भने दुवै श्रीमतीको मृत्यु भइसकेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस