२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बोत्स्वानामा भेटियो विश्वकै दोस्रो ठूलो हिरा

काठमाडौं, भदौ ७ । बोत्स्वानामा विश्वकै दोस्रो ठूलो हिरा फेला परेको छ। बिबिसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमन्ड कर्पोरेसनको स्वामित्वमा रहेको बोत्स्वानास्थित खानीमा २,४९२ क्यारेट हिरा फेला परेको हो। सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३,१०६ क्यारेटको कुलिनन हिरा अहिलेसम्मकै सबभन्दा ठूलो हो। यसलाई काटेर नौवटा पत्थर बनाइएको थियो। तीमध्ये धेरै बेलायती राजमुकुटहरूमा जडित छन्।

अहिले फेला परेको हिरा कुलिननपछिको दोस्रो ठूलो हो। लुकारा डायमन्ड कम्पनीले एक विज्ञप्ति जारी गर्दै यो हिरा फेला परेको जानकारी दिएको हो। ‘यो असाधारण २,४९२ क्यारेटको हिरा फेला परेकोमा हामी अत्यन्तै खुसी छौं,’ लुकाराका अध्यक्ष विलियम ल्याम्बले विज्ञप्तिमा भनेका छन्।

कम्पनीले सार्वजनिक गरेको तस्बिरअनुसार यो हिरा मानिसको हत्केलाभरिको छ। लुकाराले मेगा डायमन्ड रिकभरी एक्स-रे प्रविधि प्रयोग गरेर यो हिरा पत्ता लगाएको अध्यक्ष ल्याम्बले जानकारी दिएका छन्। उच्च मूल्यका हिरा पहिचान गर्न र सुरक्षित रूपमा निकाल्न सकियोस् भनेर सन् २०१७ देखि यो प्रविधि प्रयोग गरिँदै आएको छ। अहिले फेला परेको हिराको गुणस्तर र मूल्यबारे भने कम्पनीले कुनै जानकारी दिएको छैन।

यो हिरा करावे खानीमा फेला परेको हो जुन बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५०० किमी (३०० माइल) उत्तरमा पर्छ। करावे खानी शतप्रतिशत लुकाराको स्वामित्वमा छ। बोत्स्वाना सरकारले यो हिरा दक्षिणी अफ्रिकी राज्यमा अहिलेसम्म फेला परेको सबभन्दा ठूलो भएको बताएको छ। बोत्स्वाना विश्वकै सबभन्दा ठूलो हिरा उत्पादकमध्ये एक हो। यसले विश्वव्यापी उत्पादनको करिब २० प्रतिशत हिस्सा ओगटेको छ।

बोत्स्वानामा यसअघि सबभन्दा ठूलो पत्थर सन् २०१९ मा यही करावे खानीमा फेला परेको थियो। १,७५८ क्यारेटको त्यो पत्थर फ्रेन्च फेसन ब्रान्ड लुई भितोले किनेको थियो। त्यस्तै सन् २०१६ मा यहीँ फेला परेको १,१०९ क्यारेटको हिरा लन्डनको लरेन्स डायमन्ड्सका अध्यक्ष लरेन्स ग्राफले किनेका थिए।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस