२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

मन्त्रिपरिषद बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी

१३ भदौ, काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बैठक बोलाइएको छ ।

बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतको दाबी छ । हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लाग्नुभएको छ । नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो ।

गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त हुनुभएको थियो । उहाँ नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव बन्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गरेपछि प्रधानमन्त्री कार्यालयमा कानून मामिला हेर्ने सचिव गड्तौलाले वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउनुभएको थियो ।

गत ३१ असारमा बसेको केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले निमित्त मुख्यसचिवको जिम्मेवारीमा रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो । त्यसपछि १० साउनमा बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई नै मुख्य सचिव बनाउने निर्णय गरेको थियो । गड्तौलापछि डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत मुख्य सचिवको दाबेदार छन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस