२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रधानमन्त्री ओली र समकक्षी मोदीले अमेरिकामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्रमोदीसँग अमेरिकामा भेटवार्ता गर्ने भएका छन्। संयुक्त राष्ट्रसङ्घको७९औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका ओलीले भोलि आइतवार मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। ओली र मोदी दुई छुट्टाछट्टै कार्यक्रमका लागि अमेरिका पुगे पनि उक्त कार्यक्रमको छेको पारेर भेटवार्ता हुन लागेको हो।

मोदी आज साँझ अमेरिकी राष्ट्रपति जो बाइडेनको आयोजनामा हुने क्वाड समिट बैठकमा सहभागी हुने कार्यक्रम छ भने प्रधानमन्त्री ओलीले भोलि ’समिट अफ द फ्यूचर’ नामक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

अहिले प्रधानमन्त्री भएपछि ओलीले पहिलोपटक विदेशी भूमिमा मोदीसँग भेटवार्ता गर्न लागेका हुन्। कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारत र नेपालबीचको सम्बन्ध चिसिएको छ। भेटवार्ताका क्रममा नेपाल र भारतबीचको सम्बन्धमा सुधार ल्याउन बल पुग्ने अनुमान छ।

नयाँ संविधान जारी भएपछि भारतले नेपालमा लगाएको ‘अघोषित नाकाबन्दी’का क्रममा भारतविरुद्ध खरोरुपमा उत्रिएपछि प्रधानमन्त्री ओलीलाई भारतमा कतिपयले चीन पक्षधर नेताका रूपमा समेत प्रस्तुत गर्ने गरेका छन्। प्रधानमन्त्री ओलीले भने त्यसलाई अस्वीकार गर्दै आफू ‘असल छिमेक सम्बन्ध’को पक्षमा रहेको बताउँदै आएका छन्।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस