२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

चीन भ्रमणमा गएका सांसद र नेताहरूलाई फिर्ता बोलायो रास्वपाले

काठमाडौं, असोज ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीन भ्रमणमा रहेका आफ्ना सांसद र नेताहरूलाई फिर्ता बोलाएको छ। पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फिर्ता बोलाएको हो।

रास्वपाका एक नेताले दिएको जानकारीअनुसार १४ जनाको टोलीलाई जतिसक्दो छिटो काठमाडौं फर्कन भनिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए।

चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका थिए। भ्रमण तालिका १० दिनको थियो। यस क्रममा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तर्क्रिया गर्ने कार्यक्रम थियो।

यसबीच काठमाडौं उपत्यकामा रहेका नेता-कार्यकर्ता अहिले रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा भेला भएका छन्। बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले आइतबार राति नै ह्वाट्स एपमा सन्देश पठाउँदै केन्द्रीय कार्यालय आउन निर्देशन दिएका थिए। छविलाल जोशी पक्राउ परेपछि उनीहरू सभापति लामिछानेबारे चासो राख्दै केन्द्रीय पार्टी कार्यालयमा भेला भएका हुन्।

गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।

 

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस