२०८३ कार्तिक १० गते सोमवार | 2026 October 26th Monday

माथिल्लो तामाकोशीमा पहिरो : चार जनाको अवस्था अझै अज्ञात

१३ असोज, काठमाडौं । दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पहिरोले पुरिएका चार जनाको अवस्था अझै थाहा हुन सकेको छैन । शनिबार बिहान गेटहरु कन्ट्रोल गर्नका लागि बनाइएको दुई तले भवन माथिबाट खसेको पहिरोले भत्किँदा दुई जना नेपाली सेना र दुई जना जलविद्युत् आयोजनाका कर्मचारीहरु पुरिएका थिए ।

पहिरो गएको स्थानमा उद्धार टोली पुग्न पनि नसकेको र चार जनाको अवस्था पनि थाहा हुन नसकेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

‘हिजो बिहान साढे १० बजेतिर कर्मचारीहरुको सिफ्ट चेन्ज भएको थियो । ११ बजेतिर घटना भयो,’ गौतमले भने, ‘नेपाली सेनाका दुई जना र गेट-खोल्ने बन्द गर्ने कामका लागि करार सेवामा कार्यरत दुई जना कर्मचारीहरु पहिरोमा पुरिए ।’ सुरुमा एक जना सुरक्षा गार्ड पनि पहिरोमा परेको भनिए पनि अहिले सुरक्षा गार्ड पहिरोमा नपरेको खुलेको पनि गौतमले बताए ।

उनका अनुसार आज बिहान काठमाडौंबाट नेपाली सेनाको हेलिप्कटर आयोजनास्थलमा जाने तयारी छ । साथै पहिरोले भवन भत्काएको ठाउँसम्म पुग्नका लागि आयोजना निर्माणमा काम गर्दै आएको रोल्वालिङ कन्सट्रक्सनका उपकरण लैजाने तयारी छ ।

साथै बालुवा थिग्राउने पोखरीमा जम्मा भएको ढुंगा-माटो हटाउनका लागि तामाकोशी-५ आयोजनासँग पनि सहयोग मागिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । पहिरोले आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्मा पनि क्षति पुर्‍याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरेर बाँधका सम्पूर्ण ढोका (गेट) हरु खुल्ला गरिएको थियो । भिडियोमा पहाडको माथि टुप्पैबाट पहिरो खसेको देखिन्छ । आयोजनाका कर्मचारीहरुले यो अवस्था कल्पना बाहिरको भएको बताएका छन् ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस