२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालय आवश्यक: पूर्वमन्त्री चौधरी

सुनसरी। पूर्वमन्त्री तथा सुनसरी ३ का प्रतिनिधि सभा सदस्य भगबती चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नका लागि छुट्टै मन्त्रालय आवश्यक हुने बताउनु भएकोछ। उराव आदिवासी जनजातिको प्राकृतिक पर्व ‘करम पूजा समारोह-२०८१’ को सन्दर्भमा गढी गाउँपालिका-६ भवानीपुर हाथमुडा, सुनसरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताउनुभएको हो।

राज्यले आदिवासी जनजाति तथा पछाडि परेका वर्गको संरक्षण गर्नुपर्ने भन्दै उनले उनीहरूको संरक्षण र विकासका लागि राज्यले दायित्व निर्वाह गर्नुपर्ने बताए । आदिवासी जनजाति समुदायको अधिकार संविधानले पनि सुरक्षित गरेको भन्दै उनले संविधान, कानूनले दिएका अधिकार कार्यान्वयन गराउनका निम्ति लाग्नुपर्ने बताउनुभयो।
शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता सँगै सांस्कृतिक संरक्षणका लागि पनि राज्यले भूमिका निर्वाह गर्नुपर्ने उनले बताउनुभयो । पूर्वमन्त्री चौधरीले सबैको प्रतिनिधित्व हुनेगरी समुदायको विकासका लागि काम गर्न समेत उराव समुदायका अगुवालाई आग्रह गरे ।

नेपालमा सूचिकृत ५९ जातजाति रहेको भन्दै उनले राष्ट्रिय तथ्याङ्कले १२५ जातजाति देखाएको बताए । बहुसंस्कृति भएको मुलुक नेपालमा आदिवासी जनजातिको जनसंख्या ३८ प्रतिशत रहेको बताउँदै उनीहरूको संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । ‘भूमिपुत्रले प्रकृतिको पूजा गर्ने गरेका छन् । उनीहरूको सांस्कृतिक पर्वहरूको पनि संरक्षण गर्दै जानुपर्छ’, उहाँले भने, ‘विश्वभरका आदिवासी जनजातिहरूले प्रकृतिको पूजा गर्ने गरेका छन् ।

अन्नबाली लगाउने बेलामा र भित्र्याउने बेलामा पनि प्रकृतिको पूजा गर्ने गर्छन् । त्यो विश्वभर एउटै रहेछ ।’अस्ट्रेलिया, बोलिभिया लगायतका देशको भ्रमणमा जाँदा आदिवासी जनजातिको संस्कृतिको अध्ययन/अवलोकन गर्न पाएको स्मरण गर्दै उनले आदिवासी जनजातिहरूको संस्कृति विश्वमै धनी रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस