२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

उपप्रधानमन्त्री सिंहको प्रश्न- वैकल्पिक हुँ भन्नेहरूलाई कानुन लाग्दैन ?

काठमाडौं, कात्तिक १२ । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार विधिको शासन कायम गर्न लागेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले सरकारले कसैप्रति पनि द्वेषभाव नराखेको बताए।

‘सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन, सरकार त विधिको शासन कायम गर्दछ,’ मन्त्री सिंहले भने, ‘विधिको शासन लागू गर्दा हामीलाई लागू हुनु हुँदैन, हामी नयाँ पार्टी हौं भन्न मिल्छ?’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्ष्य गर्दै आफूलाई वैकल्पिक राजनीतिक शक्तिहरू हौं भन्नेहरूले कानुनको पालना गर्नुपर्ने पनि बताए। ‘वैकल्पिक शक्ति हौं भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन?,’ उनले भने, ‘हामीले वैकल्पिक हुन् भन्नेहरूको हविगत नदेखेको पनि होइन, अघिल्लो चुनावमा वैकल्पिक हौं भन्नेहरू आज कहाँ छन्? अहिले आएकाहरूको हालत पनि त्यही हुने हो। इमान्दारिता हुनुपर्दैन?’

सहकारी ठगी र संगठित अपराध कसुरमा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरामा अनुसन्धान गर्दैछ। सभापति पक्राउ विरोधमा रास्वपाले पोखरा, काठमाडौंलगायत क्षेत्रमा सडक प्रदर्शन गरिराखेको छ। सभापति लामिछानेलाई प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले दिनहुँजसो प्रदर्शन गरिराखेको छ।

 

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस