२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सल्यानमा पराल बोकेको मिनीट्रक दुर्घटना : तीन बालबालिकाको घटनास्थलमै मृत्यु, आठ जना घाइते

१२ कार्तिक, सल्यान । सल्यानमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । उनका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा मृत्यु भएको हो । मृत्यु हुनेमा सबै बालबालिका रहेका छन् ।

घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सिर्जना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारको लागि कपुरकोट गाउँपालिकाको अस्पतालमा राखिएको बताए । घाइते भएका केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्न लागिएको बताए । उनका अनुसार दुर्घटनामा परेको मिनीट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिए पनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस