२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

भाइटीकाको अवसरमा बालगोपालेश्वर मन्दिर खुला

काठमाडौं । भाइटीका पर्वको अवसरमा, आज काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर विशेष रूपमा खुला गरिएको छ। वर्षमा एकपटक आजकै दिन मात्र खुला हुने यो मन्दिर दिदीबहिनी वा दाजुभाइ नभएका व्यक्तिहरूले भाइटीका गर्नका लागि महत्वपूर्ण मानिन्छ। बिहानैदेखि मन्दिरमा पूजा र दर्शनका लागि भक्तजनहरूको घुइँचो लागेको छ।

यस्तै, दाजुभाइ र दिदीबहिनी नभएका भक्तजनका लागि जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि भाइटीका गर्ने प्रचलन छ। रानीपोखरीमा मानिस हामफाल्ने समस्याले विसं २०३५ अघि यो मन्दिर बन्द गरिन्थ्यो भने, यस बेला खञ्जनेश्वर महादेव मन्दिरमा भीड लाग्ने गरेको संस्कृतिविद् गोविन्द टण्डनले बताए। अहिले पनि टीकाका दिन यहाँ भक्तजनहरूको बाक्लो उपस्थिति रहन्छ।

यसरी भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको स्नेहलाई पुनः पुष्टि गर्दै परम्परालाई अझ बलियो बनाउने अवसर प्रदान गरेको छ। आज दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा, दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र सम्मानसहित टीका लगाइ आशीर्वाद दिन्छन्।

टीका लगाउने उत्तम साइतको खोजी गर्नेहरूका लागि आज बिहान ११ः३७ बजे अभिजित् मुहूर्तलाई राम्रो मानिएको छ।

यो पनि, आज भाइटीका, उत्तम साइत–कुन दिशा फर्कने ?

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस