२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

बालिकाको अश्लील भिडियो बनाएर प्रसारण गरेको आरोपमा २ पत्रकारलाई पक्राउ पुर्जी जारी

काठमाडौं ।  भारतमा बालिकाको अश्लील भिडियो बनाएर प्रसारण गरेको आरोपमा भारतको एक अदालतले दुई पत्रकारलाई पक्राउ पुर्जी जारी गरेको छ।

हरियाणा राज्यको गुरुग्राम विशेष अदालतले पत्रकार चित्रा त्रिपाठी (एबीपी न्युज) र सैयद सुहैल (रिपब्लिक भारत) लाई पक्राउ पुर्जी जारी गरेको ‘हिन्दी लाइभ ल इन’ ले उल्लेख गरेको छ। अदालतको आदेशअनुसार दुवै पत्रकारले धरौटी बुझाएर मुद्दा लड्ने सुविधा पाउने छैनन्।

अतिरिक्त जिल्ला र सत्र न्यायाधीश अश्विनी कुमारले सम्बन्धित प्रहरी अधिकारीलाई अदालतको आदेश कार्यान्वयन गर्न निर्देशन दिएका छन्। यसअघि त्रिपाठीका वकिलले व्यक्तिगत रूपमा पेसीबाट छुटको माग गरेका थिए। उनीहरूले त्रिपाठी चुनावी समाचार संकलनमा व्यस्त रहने दाबी गरेका थिए।

अदालतले उनीहरूको निवेदन अस्वीकार गरेको छ। अदालतले भनेको छ, ‘यो मुद्दा सन् २०१५ देखि चलिरहेको छ। यसरी ढिलाइ हुँदै गयो भने यसलाई समाधान गर्न लामो समय लाग्नेछ।’ अदालतले सैयद सुहैलको निवेदन पनि अस्वीकार गरिदिएको छ।

उनहरूले लगभग १० वर्षीया बालिका र उसको परिवारको झूटा भिडियो तयार पारेर प्रसारण गरेका थिए। त्यसमा पीडित र उसको परिवारलाई अश्लील र अभद्र तरिकाले प्रस्तुत गरिएको थियो। उक्त भिडियो समाचार च्यानलहरूमा प्रसारण गरिएपछि पीडित र परिवारको प्रतिष्ठामा धक्का लागेको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस