२४ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज लगिएको हो ।
लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौं हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगञ्ज लगिएको प्रहरी स्रोतले जानकारी दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगञ्ज पुर्याइएको छ ।
उनीहरूमाथि वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । यसअघि लामिछाने र जोशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार ४ दिनको म्याद थप गरेको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

