१५ पुस, काठमाडौं । एमालेबाट निष्कासित भएपछि नयाँ पार्टी निर्माणको अन्तिम तयारीमा रहेका डा. भीम रावलले राजनीतिक भेटवार्तालाई तीब्रता दिएका छन् । सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका छन् । मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् ।
उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एक–ठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो । कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उनी कांग्रेस बीपीतिर लागेका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।
जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् । यस्तै धेरै दलका विद्रोहीहरुले रावललाई साथ दिने र उनीहरु पार्टीको संस्थापक रहने बताइएको छ ।

