काठमाडौं। काठमाडौं उपत्यकामा विकासका नाममा अघि बढाएर अलपत्र पारिएका केही आयोजनाले जनतालाई राज्यसत्ताप्रति निराश त बनाएको छ नै, पूर्वाधार विकासका योजना सन्तोषजनक रूपमा अघि बढाइएको वकालत गर्नेहरुलाई समेत गिज्याइरहेको छ। यसका ज्वलन्त उदाहरण हुन् – तीनकुने र टेकु पुल। यी पुलका योजना राज्यको लापरबाही, भ्रष्टाचार र विकास निर्माणमा भएको ढिलासुस्तीको प्रतीक बनेका छन्।
तीनकुने र टेकु हुँदै आवागमन गर्नेमा प्रधानमन्त्री र मन्त्रीका मात्रै गाडी हुँदैनन्, सम्बद्ध निकायका उच्चपदस्थ कर्मचारी र योजनाविद्हरु पनि हुन्छन्। उनीहरुले न तीनकुनेको अलपत्र पुल नै देख्छन् न त निर्माण सम्पन्न भएर संचालन हुन नसकेको टेकुको पुल नै। यी दुई दृष्टान्तले प्रश्न त तेर्सिन्छ नै। रातदिन आफ्नै आँखा अगाडिका योजनामा के भइरहेको छ भन्ने एक दशकसम्म थाहा नपाएझैं गर्ने नेता र सरकारका जिम्मेवारहरु दुरदराजका विकास निर्माणका योजनाका बारेमा कसरी गम्भीर होलान्?
राज्यले मन्त्री कति पाए, अलपत्र परेको आयोजनाले हाकिम कति पायो तर एक दशकमा पनि यी आयोजना पुरा भएनन्। यस्ता महत्त्वपूर्ण योजनाहरू समयमै सम्पन्न कसले गराउँछ? यी पुल निर्माण कम्पनी र सरकारी अधिकारीहरूबीचको मिलेमतो, अनुगमनको अभाव, ठेकेदारको लापरबाही र राजनीतिक हस्तक्षेपले गर्दा ढिलासुस्ती भएको हो। निर्माण ठेक्का लिएकाहरुले काममा ढिला गरे, गुणस्तरहीन काम गरे, तर राज्य संयन्त्रमा यसबारे चर्चा नै हुँदैन।
यो आयोजना संचालनमा रहँदा मुलुकमा प्रमुख दलका शीर्ष नेताहरु आलोपालो प्रधानमन्त्री बने। एमालेका केपी शर्मा ओली अहिले सरकारकै नेतृत्वमा छन्। कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सरकार चलाए। न अघिका दुईजनाको सरकारले यी आयोजनाको विषयमा गम्भीर रुपमा लियो, न त अहिलेको ओली सरकारले नै यी पुल निर्माणलाई कसरी अघि बढाउन सकिन्छ भन्ने बारे छलफल नै गरेको छ।
२०७५ साल चैतमा कालीमाटीबाट टेकु आउन खुलेको नयाँ पुल। यो पुल हाल संचालनमा छैन।
तीनकुने र टेकुका दुई पुल निर्माण गर्ने कम्पनी पप्पु कन्स्ट्रक्सन हो। यी दुवै पुलमा भएका समस्या पनि एउटै हुन्, गुणस्तरहीन काम। राजनीति र कानुनी फन्डाको आडमा यस्ता कयौं पुल निर्माणमा गणस्तरहीन काम गरेर पप्पु कन्स्ट्रक्सन अझै पनि खुलेआम ठेक्का लिएर काम गरिरहेको छ।
तीनकुने पुल लम्बिएको दुःख
निर्माण कम्पनीको गलत डिजाइनका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र छ। पप्पु कन्स्ट्रक्सनले पुलको डिजाइन सच्याएर पुल निर्माणलाई अगाडि बढाउन नमान्दा पनि सो आयोजना नै अलपत्र अवस्थामा पुगेको हो। यो पुलको निर्माण लामो समयदेखि अलपत्र रहनुले राज्यको विकास निर्माणमा देखिएको गम्भीर समस्यालाई उजागर गरेको छ। सो पुलको निर्माण ठेक्का २०७१ मा भएको थियो। २०७६ मंसिर ६ मा पप्पु कन्स्ट्रक्सनसँग भएको ठेक्का सम्झौता तोडिएपछि २०७८ चैतमा २४ करोडमा निर्माणको जिम्मा वाइपी किरातेश्वर जेभीले पाएको थियो। तर, नयाँ ठेक्कामा पनि डिजाइन र निर्माणमा विवाद उत्पन्न भएयता योजना अलपत्र छ।
टेकु पुल: कानुनी जालोमा फसेको आयोजना
टेकु र कालिमाटी जोड्ने विष्णुमती खोलामा निर्माण गरिएको पुल प्राविधिक कारण देखाउँदै अलपत्र छ। २०७५ मा नै निर्माण सम्पन्न भएको उक्त पुलमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ। पुलको स्ल्याब ढलानका क्रममा गुणस्तरहीन सामग्री प्रयोग भएको प्राविधिक परीक्षणले देखाएको छ। पुलको बीचको भाग जुन बेला पनि झर्न सक्ने खतरा छ। यो पुल अहिले न संचालनमा छ न भत्काएर नयाँ बनाउने प्रक्रिया नै अगाडि बढेको छ।

