काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतको आक्रोशपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आफ्ना पार्टीका नेताहरूको व्यक्तिगत विषयमा अनावश्यक टिप्पणी गरेको भन्दै असन्तोष व्यक्त गरिन्। उनको अहिले न्युजिल्यान्डको संसदमा माओरी समुदायकी २२ वर्षीया सांसद हाना रावहिती माइपी क्लार्कले आफ्नो समुदायको सांस्कृतिक नृत्य हाका प्रस्तुत गर्दै संसद्मा प्रस्तुत विधेयकको विरोध जनाए जस्तो भन्दै चर्चा भइरहेको छ ।
मुख्य घटनाः
– समितिका सदस्यहरूले अनुगमनको क्रममा रक्सी सेवन गर्दै रास्वपाका नेताहरूको व्यक्तिगत जीवनमा टिप्पणी गरेको कठायतले आरोप लगाइन्।
– उनले रवि लामिछाने, सुमना श्रेष्ठ र सोबिता गौतमबारे अनावश्यक चर्चा र गाली गरिएको भन्दै आक्रोश व्यक्त गरिन्।
– अनुगमनको सट्टा व्यक्तिगत विषयमा ध्यान दिने, रक्सी खाएर गाली गर्ने समिति सदस्यहरूको यो आचरण गलत हो, कठायतले भनिन्।
सभापतिसँगको वादविवादः
कठायतले समितिका सभापति कुसुम थापामाथि समेत प्रश्न उठाउँदै भनिन्, तपाईंहरूले सभापतिजस्तो भूमिका निभाउनुपर्छ। सभापति थापाले कठायतलाई विषयमा केन्द्रित हुन आग्रह गर्दा कठायत झन् चर्किइन्। कठायतले स्पष्ट चेतावनी दिँदै भनिन्, हामी नेताहरूको व्यक्तिगत जीवनतिर ध्यान दिनुको सट्टा समस्याको समाधानतिर लाग्नुपर्छ। तीन मिनेटको यो आक्रोशपूर्ण अभिव्यक्तिले समितिको गरिमा र मर्यादाबारे थप बहस सुरु गराएको छ। उनले एमाले कांग्रेस लगायतका दलका सांसदहरुले एनजीओको रक्सी खाने गरेको आरोप समेत लगाइन् ।

