२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

बलात्कार आरोपमा समातिएका एमालेबाट निर्वाचित पूर्वमेयरको २५ दिनदेखि अस्पतालमै मस्त बास

"Court Orders Former Mayor Shivakoti, Who Was Influencing Police and Staying in Hospital, to be Sent to Jail"

१८ पुस, झापा । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी झण्डै एक महिनादेखि लगातार अस्पतालमा बसिरहेका छन् । प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा राखेको हो । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । शिवाकोटी अस्पतालमा रहेकै बेला उनको बयान लिएर प्रहरीले शिवाकोटीविरुद्धको अनुसन्धान सकेको छ ।

इलाका प्रहरी कार्यालय, अनारमनीबाट अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, झापामा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय, झापाकी सूचना अधिकृत प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले बताइन् । ‘हामीले अनुसन्धान सकेर तोकिएको अनुसन्धान प्रतिवेदन बुझाएका छौं, सरकारी वकिलबाट अध्ययन भइरहेको छ’, उनले भनिन् । प्रहरीले उनलाई २४ मंसिरमा पक्राउ गरेको थियो ।

पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सीमा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था किन नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो । त्यसक्रममा उनले आफू विर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीको घरमा बस्ने गरेको तर, पटकपटक करणी भएपछि भागेर हिँडेको बताएकी थिइन् ।

कलेज ड्रेसमै रहेकी उनले शिवाकोटीको कर्तुतबारे बताएपछि संस्थाले इलाका प्रहरी कार्यालय, धुलाबारी लगेको थियो । त्यहाँ महिला प्रहरीसँग पनि उनले त्यही अनुसारको बयान दिएपछि इलाका प्रहरी कार्यालय, अनारमनी पठाइएको थियो । प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखिएको थियो । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई पक्राउ गरेको थियो । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस