२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनै सुनले भरिएको विश्वकै पहिलो १० तारे होटल, एक रातको कति पर्छ?

दुबईको बुर्ज अल अरब विश्वकै पहिलो दशतारे होटलको रूपमा चिनिन्छ, जहाँ एक रात बिताउनका लागि २८ लाख रुपैयाँ तिर्नुपर्छ। यो होटल आफ्नो लग्जरी जीवनशैली, आलिशान सजावट, र सुनको प्रयोगका लागि प्रसिद्ध छ। यो होटलमा पिल्लरहरुदेखि ढोकाका ह्याण्डलसम्म सुन लेपन गरिएको छ, जसले यसलाई अर्बपति व्यापारी तथा राजपरिवारहरुको पहिलो रोजाइ बनाएको छ।

बुर्ज अल अरब जुमेराह बीचमा अवस्थित छ, जहाँ समुद्रको नीलोपन र सफाइले यसको सुन्दरता बढाएको छ। यो होटल कृत्रिम टापुमा निर्माण गरिएको हो र यसको जग समुद्रभित्र १४८ फिट गहिराईसम्म पुगेको छ। होटलको शानदार स्थिति र अनौठो डिजाइनले यसलाई विश्वको सबैभन्दा सुन्दर र आइकनिक होटलको रूपमा स्थापित गरेको छ।

होटलको आन्तरिक सजावट र खानपिनमा सुनको प्रयोग उल्लेखनीय छ। १७९० वर्ग मिटरका २४ क्यारेट सुनौला पातले यसलाई भव्य बनाएका छन्। यहाँका लग्जरी परिकारहरुमा पनि सुनको लेपन रहेको हुन्छ, जसले हरेक भोजनलाई विशेष बनाउँछ।

सन् २००८ मा बुर्ज अल अरबले विश्वको सबैभन्दा महँगो ककटेलका लागि गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएको थियो, जसको मूल्य २७ हजार ३२१ दिराम अर्थात् करिब ११ लाख रुपैयाँ थियो।

होटलको निर्माणमा करिब १ अर्ब डलर खर्च भएको थियो र यसको स्वामित्व जुमेराह ग्रुप, जुन दुबई सरकारको लग्जरी होटल चेन हो, सँग छ। यो भवन ३२१ मिटर अग्लो छ र सन् १९९९ मा निर्माण सम्पन्न भएको थियो।

होटलमा २०२ वटा कोठा छन्, जसमध्ये सानो सुइट १६९ वर्गमिटर र सबैभन्दा ठूलो रोयल सुइट ७८० वर्गमिटरको छ। रोयल सुइटमा एक रात बिताउन २८ लाख ३० हजार रुपैयाँ तिर्नुपर्छ भने अन्य सुइट्सको शुल्क ८ लाख २५ हजार रुपैयाँबाट सुरु हुन्छ।

बुर्ज अल अरबको डिजाइन प्रसिद्ध आर्किटेक्चर कम्पनी एटकिन्सले गरेको हो र टम राइटको नेतृत्वमा निर्माण भएको हो। यसको आकार एउटा जहाजको पालजस्तै डिजाइन गरिएको छ, जसले यसलाई विश्वकै अनुपम संरचनामध्ये एक बनाएको छ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस