२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

रविलाई आज फेरि अदालतमा उपस्थित गराइने

२४ माघ, काठमाण्डौँ । रास्वपा सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइने भएको छ । सहकारी ठगी प्रकरणमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई बुधबार जिल्ला अदालत चितवनले प्रहरीको जिम्मा लगाएको थियो ।

थुनछेक बहस नसकिएकाले आज फेरि अदालतमा उपस्थित गराउन लागिएको हो । न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई प्रहरीको जिम्मा लगाएको थियो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछाने बुधबार नै जिल्ला अदालतमा उपस्थित भएका थिए । अदालतले उनको बयान लिएपछि थुनछेक बहस शुरू भएको थियो ।
सरकारी वकिल कार्यालयले मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।
दर्ता गरिएको मुद्दामा प्रतिवादीहरूमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् ।
यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछानेलाई किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचतसहित छ वटा संस्था रहेका पनि छन् ।​

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस