२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। लामिछाने, जो साहारा सहकारी ठगी प्रकरणमा मुछिएका थिए, बैंक ग्यारेन्टी बुझाएर हिरासत मुक्त भए।

अदालतमा बयान सकिएपछि थुनछेक बहस भएको थियो, जसपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो। अहिले बैंक ग्यारेन्टी बुझाएर उनलाई रिहा गरिएको हो। हिरासतमुक्त भएपछि उनले चितवनबाट आफूलाई न्याय नहुने भन्ने कुनै प्रश्न नै नरहेको र चितवनवासीहरूले आफ्नो न्यायको लागि बारम्बार संघर्ष गरेको स्मरण गराए।

लामिछानेले सांसद पद निलम्बन गर्नका लागि जालझेलपूर्ण ढंग अपनाइएको आरोप लगाउँदै यसलाई चितवनवासीको न्यायको लडाइँसँग जोडेर देखाए। उनले भने, ‘चितवनबासीले दुई÷दुई पटक मलाई निर्वाचित गरेर पठाइसक्दा जालझेलपूर्ण ढंगले मेरो सांसद पदलाई निलम्बन गरिएको छ।’

उनले थपे, ‘म तमाम चितवनबासी आमाबुबा, दाजुभाइ दिदीबहिनीलाई भन्न चाहन्छु, यो एउटा प्रश्रव पीडा हो। बच्चा जन्मिनुभन्दा पहिला ठूलो प्रश्रवपीडाबाट आमाहरु गुज्रिनुपर्ने हुन्छ। त्यसैगरी चितवनले परिवर्तन जन्माउन खोजेको छ।’

लामिछानेले आफ्नो संघर्षलाई जारी राख्ने र चितवनको परिवर्तनको यात्रा पूरा गरेरै छोड्ने संकल्प व्यक्त गरे।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस