२८ माघ, काठमाण्डौँ । भारतको केरला राज्यको एक अदालतले २४ वर्षीया ग्रीष्मा नामकी युवतीलाई आफ्नो प्रेमी शेरोन राजलाई विष खुवाएर हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ। यो विषय केरलामा अदालतदेखि स्थानीय प्रहरीसम्म चर्चाको विषय बनेको छ।
ग्रीष्मामाथि सन् २०२२ मा आफ्नो प्रेमी शेरोन राजलाई विष खुवाएर हत्या गरेको आरोप लागेको थियो। यस मामिलामा विशेष कुरा भनेको यो हो कि अदालतले डिजिटल प्रमाणका आधारमा उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो। गुगल क्लाउडबाट प्राप्त प्रमाणले प्रहरीलाई अपराध प्रमाणित गर्न महत्वपूर्ण सहयोग पुर्याएको थियो।
सरकारी वकिलका अनुसार, “यस मुद्दामा भौतिक प्रमाणको अभाव भएपनि अपराध प्रमाणित गर्न परिस्थितिजन्य र डिजिटल प्रमाणको प्रयोग गरिएको थियो, र त्यस आधारमा अदालतले कडा सजाय दिएको छ।”
ग्रीष्मा र शेरोन राज प्रेमी थिए, तर ग्रीष्माका परिवारले उनको अर्को केटासँग विवाह गर्ने निर्णय गरेपछि शेरोनसँगको सम्बन्ध तोड्न ग्रीष्माले दबाब दिइन्। शेरोनले अस्वीकार गरेपछि ग्रीष्माले शेरोनलाई हत्या गर्ने योजना बनाइन्। उनले शेरोनलाई आफ्नो घरमा बोलाएर विष मिसाएर पिउन दिए।
यस हत्या प्रयासको अनुसन्धानमा ग्रीष्माले आफ्नो मोबाइलमा हत्या गर्ने योजनाको बारेमा खोजी गरेको र पछि ती डाटा मेटाएको पाइएको थियो। तथापि, गुगल क्लाउड डाटाले ती सबै मेटिएका प्रमाणहरू पुनः प्राप्त गरिदिएका थिए।
अदालतले सबै प्रमाणहरूलाई आधार मानेर ग्रीष्मालाई मृत्युदण्डको सजाय सुनायो, र शेरोनको परिवारलाई भने न्याय प्राप्त भएको बताए।

