प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७ औं बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थप गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै २०९ जना विद्यार्थीलाई निःशुल्क एमडी/एमएस गर्नको लागि अवसर प्राप्त हुनेछ।
आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाका अनुसार, पिजीका लागि कोटा थप भएको हो र स्रोत सुनिश्चित गरिएको छ।
साथै, बैठकले जुनसुकै विषयमा प्लस टु पास गरेका विद्यार्थीलाई जनरल नर्सिङ अध्ययन गर्न अनुमति दिने निर्णय गरेको छ। अब १२ कक्षामा जुनसुकै विषय पढेका विद्यार्थीले जनरल नर्सिङ अध्ययन गर्न सक्नेछन्।
बैठकमा निजी मेडिकल कलेजमा विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने विषयमा पनि छलफल भएको थियो। आयोगको आगामी बैठकमा यसबारे निर्णय आउनेछ।
प्रधानमन्त्री ओलीले नर्सिङ शिक्षामा थप सुदृढीकरण गर्नुपर्ने र नर्सहरूको सेवा-सुविधा सुधार गर्न सुझाव पनि दिएका छन्।

