२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू : एआई र व्यावहारिक शिक्षा समेटिने

शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन्। जनकपुरधाममा आयोजित कार्यक्रममा उनले हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले देशभरबाट शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाविद्को सुझाव संकलन भइरहेको जानकारी दिए।

नयाँ पाठ्यक्रममा कृत्रिम बौद्धिकताको सदुपयोग, व्यावहारिक तथा प्राविधिक शिक्षा, ‘बुक फ्री फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नवीन अवधारणा समेटिनेछ। कक्षा १ देखि १२ सम्मकै पाठ्यक्रम परिमार्जन गरिने भएकाले सबै सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने मन्त्रीले बताए।

सरकारले विद्यालय शिक्षा ऐन ल्याउने तयारीसमेत गरिरहेको छ, जसले विद्यालय तहमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा मधेश प्रदेशका मन्त्री मनोजकुमार सिंहले संघीय सरकारसँग सहकार्य गर्दै शिक्षा सुधारमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक महेन्द्र पराजुलीले कार्यदलले सुझाव संकलन गरी प्रभावकारी कार्यान्वयन गर्ने तयारी भइरहेको बताए। सहभागीहरूले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री पाठ्यक्रम, व्यावहारिक ज्ञान र एआई प्रयोगबारे सुझाव दिएका थिए।

 

प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस