काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने लिखित प्रस्ताव बोकेर सिंहदरबारबाट बालुवाटार पुगे पनि मन्त्रिपरिषद् बैठकमा पेस गर्न सकेनन्। कुलमान हटाउने प्रस्ताव बोकेर मन्त्रिपरिषद् बैठकमा पुगेका ऊर्जामन्त्रीको कदममा ठ्याक्कै ब्रेक लागेको छ ।
मन्त्री खड्काले कुलमान हटाउने प्रस्ताव लैजान लागेको थाहा पाएपछि ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङले दिउँसै सचेत गराएका थिए। तामाङले राम्रो काम गर्ने कर्मचारीलाई हटाउँदा गलत सन्देश जान्छ भन्दै मन्त्रीलाई सम्झाएका थिए। कुलमान हटाउने निर्णय प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तहमा पुगेको भन्दै मन्त्री खड्काले आफ्ना निकटस्थलाई अब मेरो हातमा केही छैन, माथिल्लो तहबाट नै प्रस्ताव मागिएको हो भन्दै लिखित प्रस्ताव नै बोकेर उनी मन्त्रिपरिषद् बैठकमा गएको थिए ।
तर हिजोको मन्त्रिपरिषद् बैठकमा उनले त्यो प्रस्ताव पेस गर्ने हिम्मत राखेनन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो प्रस्ताव आजको बैठकमा नराख्नु भनेपछि फाइल बोकेर उर्जामन्त्री सिंहदरबार नै फर्किएका छन् । स्रोतका अनुसार नेपाली कांग्रेसले कुलमान हटाएर त्यहाँ आफ्ना कार्यकर्ता भर्ती गर्ने उदेश्य राखेको सूचना प्रधानमन्त्रीले बुझेपछि ऊर्जाराज्यमन्त्री तामाङलाई प्रधानमन्त्री ओलीले नै साथ दिएर विपक्षमा उत्रिन भनेका थिए ।
यसअघि ६ फागुनमा पनि खड्काले मौखिक रूपमा कुलमान हटाउने प्रस्ताव राखेका थिए । तर कांग्रेस मन्त्रीहरूको असहमतिले प्रक्रिया रोकिएको थियो। सोमबारको मन्त्रिपरिषद् बैठकमा जसरीपनि प्रस्ताव लैजान कांग्रेस सभापति शेर बहादुर देउवा लगायतका नेताले दवाव दिएपछि उर्जामन्त्री अघि बढेका थिए । तर अब ब्रेक लागेको छ ।

