काठमाडौं । अमेरिकाको मिनिसोटा राज्यको स्टर्न्स काउन्टी प्रहरीले दुई नेपाली, २० वर्षीय फयाल र १९ वर्षीय तामाङमाथि यौन दुर्व्यवहारको आरोपमा फेब्रुअरी २१ मा स्टर्न्स काउन्टी कोर्टमा मुद्दा दायर गरेको छ।
सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत एक विद्यार्थीमाथि गत नोभेम्बर १ मा छात्रावासको कोठामा भएको बलात्कारको अभियोग उनीहरूमाथि लागेको छ। अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनीहरू मिनिसोटामा नभेटिएकाले प्रहरीले राष्ट्रव्यापी खोजी सुरु गरेको छ। कलेज प्रशासनका अनुसार, फयाल र तामाङ अगस्तदेखि डिसेम्बरसम्म भर्ना भएका थिए तर विन्टर ब्रेकपछि फर्किएनन्।
प्रहरीले पीडितको उजुरीपछि अनुसन्धान थालेको थियो। सुरुमा उनीहरूले संलग्नता अस्वीकार गरे पनि घटनास्थलमा उपस्थिति र पीडितको स्वास्थ्य परीक्षणमा डीएनए म्याच भएपछि संलग्नता पुष्टि भएको छ। घटनापछि फयालले पीडितलाई इन्स्टाग्राममा म्यासेज पठाएर स्वास्थ्यबारे चासो देखाएको प्रहरीले जनाएको छ।

